काठमाडौं, ५ असोज - अपराधको पछिल्लो शृंखलामा १३ वर्षीया किशोरीलाई घरबेटीका छोरा र आफ्नै प्रेमी मिलेर बलात्कारपछि हत्या गरेको रहस्य खुलेको छ । काठमाडौं डल्लु बस्ने सुष्मा तामाङ पाँच दिनदेखि हराइरहेकी थिइन् ।सुष्माले घरबेटीका छोरा २२ वर्षीय राजेश महर्जनलाई दाइ र १६ वर्षीय अर्जुन लामालाई प्रेमी बनाएकी थिइन् । तर, प्रहरीले उनका दाइ र प्रेमी मिलेर बलात्कार गरी हत्या गरेको पुष्टि गरेको छ । दुवै आरोपी हिरासतमा छन् ।
महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख नवराज सिलवालका अनुसार ३० भदौ बेलुका साढे ११ बजे सुष्मा एकाएक कोठाबाट हराएपछि आमा माइली तामाङ खोजीका लागि महानगरीय प्रहरी वृत्त बालाजु पुगेकी थिइन् । पाँच दिनपछि २ असोज बेलुका ७:४५ बजे डल्लु आवास क्षेत्रको माल्चाटारको नर्कटको झाडीमा किशोरीको लास फेला परेको थियो ।
लास सनाखत गराउँदा उनले मृतक हराइरहेकी सुष्मा रहेको पहिचान गरेपछि प्रहरीले हत्याराको खोजी सुरु भएको थियो । अनुसन्धानको क्रममा स्थानीयवासीबाट मृतक तामाङ बेलुका दुईजना युवकसित हिँडेको देखेको जानकारी आएपछि प्रहरीले अनुसन्धानका लागि सुष्माको घरबेटीका छोरा राजेशलाई तत्काल पक्राउ गरेको थियो ।
बयानका क्रममा घरबेटीका छोरा राजेशले अर्जुनको नाम लिएपछि प्रहरीले उनलाई चितवन गएर ३ असोजमा पक्राउ गरी काठमाडौं ल्याएको थियो । अर्जुन पक्राउ परेपछि उनले आफू र राजेश मिलेर सुष्माको बलात्कार तथा हत्या गरेको बयान दिएको बालाजु वृत्तका डिएसपी वसन्त कुँवरले बताए । दुवैविरुद्ध हत्या-अभियोगमा अनुसन्धान अगाडि बढाइएको छ ।
सुष्माको शव फेला पर्दा सुष्माको सुरुवाल लासभन्दा केही पर भेटिएको थियो । शव कुहिएर गन्हाउन थालिसकेको अवस्थामा फेला परेको थियो । प्रहरीले शव पोस्टमार्टमका लागि शिक्षण अस्पताल महाराजगन्ज पठाएको छ ।
घटनाको अनुसन्धानकर्ता बालाजु वृत्तकी प्रहरी निरीक्षक दिप्ती कार्कीले घटनास्थलको प्रकृति, मृतकको अवस्था र अभियुक्तको बयानका आधारमा सुष्माको बलात्कारपछि हत्या गरिएकोे बताइन् । उनले भनिन्, 'पोस्टमार्टमको रिपोर्ट आउन बाँकी छ, तर घटनास्थलको अवस्था र अभियुक्त आफैंले पहिला पालैपालो बलात्कार गरी मारेको स्वीकार गरिसकेकाले बलात्कारपछि हत्या गरेको पुष्टि हुन्छ ।'
मृतक सुष्माको परिवार डल्लुमा रहेको राजेशको घरमा डेरामा बस्थ्यो । सुष्माले अभियुक्त राजेशलाई दाजु मानेकी थिइन् । उता राजेश र अर्जुन साथी थिए । राजेशको घरमा आउने-जाने गर्दा अर्जुन र सुष्माको प्रेम बसेको थियो ।
अर्जुनले आफूलाई सुष्माले माया गर्छिन् भन्ने थाहा नभएर यस्तो अपराध गरेको बयान दिएका छन् । उनले बयानमा भनेका छन्, 'सुष्माले मलाई माया गर्छिन् भन्ने थाहा थिएन, तर राजेशलाई थाहा रहेछ, रक्सी खानेक्रममा उसले पहिलोपटक मलाई सुष्माले तँलाई माया गर्छे भने ।'
रक्सी खानेक्रममा राजेशले 'तैंले भनेको सुष्माले जे पनि मान्छे, आज बेलुका त्यसलाई गीतामाता स्कुलमा बोलाएर मोज गरौँ' भनेर प्रस्ताव राखेको अर्जुनले प्रहरीसमक्ष बयान दिएका छन् ।
घर जानेक्रममा दुवैजनाले सुष्मालाई कसरी घरबाहिर निकाल्ने भन्ने योजना बुनेका थिए । सुष्माको कोठामा गएर उसका बाबुसँगै बसेर रक्सी खाने अनि अर्जुनले काम छ भनेर सुष्मालाई घरबाहिर बोलाएर गीतामाता स्कुलमा लैजाने योजना बनाएर दुवै सुष्माको कोठामा गएका थिए ।
योजनाअनुसार नै दुवै मिलेर सुष्माको बाबुसँग बसेर रक्सी खाएका थिए । रक्सी सकिएपछि राजेशले सुष्मालाई फेरि रक्सी ल्याउन भने । उनी रक्सी लिन बोतल बोकेर बाहिर निस्केको मौका छोपेर अर्जुनले 'तिमीसित काम छ, गीतामाता स्कुलमा आऊ है' भनेर बोलाएका थिए । प्रेममा परेकी सुष्मा अर्जुनको प्रस्तावमा सहमत भएकी थिइन् ।
सुष्मासँग कुरा मिलाएपछि अर्जुन राजेश र सुष्माको बुबा भएको कोठामा फर्केर केही समय बसेर बाहिरिएका थिए । अर्जुनले भनेझैं सुष्मा पनि गीतामाता स्कुलमा पुगेकी थिइन् ।
गीतामाता स्कुल पुगेपछि अर्जुन र राजेशले यहाँ नबसौँ अन्तै जाऊँ भन्दै सुष्मालाई माल्चाटारतिर लगेका थिए । तीनैजना माल्चाटारमा रहेको नर्कटको झाडीमा गएर बसेका थिए ।
सुष्मा र अर्जुनबीच कुराकानी भइरहेको वेला राजेशले यौन सम्बन्ध राख्ने प्रस्ताव राखेका थिए । तर, सुष्माले अस्वीकार गरेपछि दाइ भनिएका राजेशले जबर्जस्ती गरेका थिए । डिएसपी कुँवरले भने, 'अनुसन्धानको क्रममा पहिला राजेशले सुष्मालाई बलात्कार गरेको र अर्जुनले उनलाई सहयोग गरेको खुलेको छ ।' बलात्कारको क्रममा सुष्मा चिच्याउन थालेपछि दुवै मिलेर उनको घाँटी अठ्याउँदै मुख थुनेका थिए । मुख थुनिएर सुष्मा शिथिल भएपछि अर्जुनले पुनः बलात्कार गरेका थिए ।
अर्जुनले बलात्कार गरेपछि सुष्माको लास नर्कटको झाडीसँगै रहेको कान्लोमुन्तिर स्याउलाले छोपेर दुवैजना फर्किएका थिए । तर, हत्या गरेको कसैले थाहा पाउने डरले अर्जुन सो रात आफ्नो कोठाको छतमा गएर सुतेका थिए । उनले प्रहरी बयानमा भनेका छन्, 'मलाई साह्रै डर लाग्यो । कोठामा सुत्यो भने समात्छन् भनेर छतमा गएर सुतेँ । रातभर निद्रा लागेन, बिहानै ४ बजे नै उठेर आमासँग केही पैसा मागेर चितवनमा रहेका आफन्तको घर गएँ, तर प्रहरीले पक्राउ गरिछाड्यो ।'
साभार : नयाँ पत्रिका दैनिक
Please yasto baltakari garnelai mero bicharma jsribaltakar gari maryo tosrinae mirtu dand hunu parcha.
COMMENTS