यौन साधारणतया सम्भोगको लागिमात्र प्रयोग गरिने हुनाले नेपालीहरू यसबारे चर्चा गर्न चाहँदैनन्
आजभोलि प्रत्येक पत्रपत्रिकामा यौनव्यवसायका समाचारले पहिलेभन्दा बढी नै स्थान पाइरहेका छन् । जसले गर्दा पाठकले यसका बारेमा अझ बढी जानकारी पाएका होलान् । तर यौन साधारणतया सम्भोगको लागिमात्र प्रयोग गरिने हुनाले नेपालीहरू यसबारे चर्चा गर्न चाहँदैनन् । यौन चाहना एउटा सामान्य शारीरिक प्रवृत्ति हो, यति हुँदाहुँदै पनि हाम्रो समाजमा यसका विषयमा त्यति धेरै जानकारहरू देखिँदैनन् । देश राजधानी वा कुनै ठूलो सहरमा बस्नेहरूको लागिमात्र होइन । तसर्थ कुनै पनि विषयमा, मुख खोल्नुभन्दा पहिला त्यो विषयका बारेमा यथेष्ट जानकारी हुनु जरुरी छ ।
केही समय अघिदेखि काठमाडौंलाई कार्यक्षेत्र बनाएका प्रहरी उपरीक्षक रमेश खरेलले विकृति र अपराध कम गर्न कानुनतः निश्चित स्थान तोकिदिएर यौनव्यवसायलाई वैधानिकता दिई व्यवस्थित बनाउनुपर्ने अवधारणा सार्वजनिक गरेका थिए । त्यो व्यक्तिगत रूपमा रमेश खरेलको मात्र नभएर नेपाल प्रहरीको अवधारणा हो भनेर बुझ्न गार्हो छैन । जसले जुन दृष्टिकोणले यो अवधारणालाई सार्वजनिक गरेको भए पनि काम गरेको अनुभवका आधारमा यसमा मेरो विमति छ ।
यो विषयमा गहिरो अध्ययन एवं अनुसन्धानविना यही नै ठीक हो भनेर ठोकुवा गर्न सकिने अवस्था छैन । किनकि यौनव्यवसायी वा यौनकर्मी भन्नेबित्तिकै सबैको मानसपटलमा एउटी महिलाको आकृति आउँछ, जुन महिला बाध्यता एवं विवशताका कारण त्यहाँसम्म धकेलिएकी हुन्छिन् भन्ने कुरा धेरैले ख्याल गर्दैनन् । एउटी महिला आर्थिक विपन्नताका कारण आफू र आफ्ना परिवारको पेट पाल्नका लागि यो पेसा अँगाल्न विवश हुन्छिन् भने उनको पुरुष ग्राहक घरमा भएका बालबच्चाको पेटमा लात हान्दै शारीरिक सुखका लागि जान्छ । तर पनि पुरुषको चर्चा हुँदैन । जसले गर्दा वास्तविक रूपमा मर्कामा परेका एवं पितृसत्तात्मक सामाजिक संरचनाले हेपिएका नारीको भावनामा ठेस पुग्न सक्तछ भने सोझासिधा महिलालाई उपयोग गरी आर्थिक लाभ लिने गिरोहले फस्टाउने मौका पाउँछ ।
नेपाल प्रहरीद्वारा प्रस्तावित रेडलाइट एरियाको सुझाव आउनुको पछाडि विभिन्न पेसारव्यवसायको आवरणभित्र मौलाउँदै गएको यौनजन्य गतिविधि र त्यसले समाजमा पारेको कु प्रभावको कारण हुनसक्छ । हालसम्म यस्ता व्यवसायमा अर्थात् क्याबिन रेष्टुरेन्ट, डान्सबार मसाजपार्लर एवं गेष्टहाउसहरूका नाममा जोखिममा परेका महिलाहरूले हाकाहाकी त्यहाँभित्रका अवाञ्छनीय गतिविधिलाई नस्वीकारे पनि विभिन्न संघ-संस्थाको अध्ययन तथा प्रहरी प्रशासनको निरन्तर धरपकडको कारण बाहिरी आवरण एउटा, भित्री काम अर्कै भइरहेको छ भनेर बुझ्न गार्हो छैन । तर त्यहाँ यौनजन्य गतिविधि भएकै आधारमा हचुवाका भरमा कुनै पनि कदम उठाइयो भने कालान्तरमा गएर उपयोगी नहुने देखिन्छ । झन् रेडलाइट एरिया दिनेजस्तोअत्यन्तै समवेदनशील विषयमा त यथेष्ट छलफल र सुझबुझ हुनैपर्छ ।
क्याबिन, डान्स, मसाज लगायत विभिन्न स्थानमा जोखिमजन्य परिस्थितिमा कार्यरत महिलासँग आठ वर्षदेखि काम गर्दै आउँदा एकजना पनि त्यस्तो महिला भेटिएकी छैनन्, जो स्वेच्छाले आफ्नो शरीर बेच्न तम्सियोस् । यस्ता व्यवसायमा संलग्न भएका अधिकांश महिला मर्यादित र दिगो वैकल्पिक बाटोको खोजीमा लालायित छन् ।
प्रारम्भमा रेष्टुरेन्ट, गेष्टहाउस वा मसाज सञ्चालन गर्नुपूर्व सञ्चालकहरूले जे काम गछौर्ं भनी वाचा गरेका थिए, त्यसलाई बिर्सिंदा र सरकारी निकायबाट त्यसको अनुगमन निगरानी नभइदिँदा विस्तारै छाडापन भित्रिएको हो । जसले छाडापन भित्र्यायो, उसले कहिल्यै सजाय पाएन । बरु बिहान-बेलुकाको छाक टार्न त्यसलाई रोजगारीको रूपमा अँगाल्न विवश अनपढ, अशिक्षित, बेरोजगार एवं निर्दोष महिलाहरू नै घरपरिवार, टोलछिमेक हुँदै राष्ट्रबाटै उपेक्षित हुँदै गइरहेका छन् ।
रक्षा नेपालले सन् २००९ मा गरेको अध्ययनअनुसार ९० प्रतिशत महिलाहरू क्याबिन, डान्स, मसाजको पेसा त्यागी वैकल्पिक बाटोको माध्यमद्वारा पुनःस्थापित हुन चाहेको देखिएको छ भने १० प्रतिशत यो पेसामा आइहालियो, यसलाई नै व्यवस्थित बनाइओस् भन्ने चाहना राख्छन् । तर व्यवस्थित भनेको कस्तो हो रु उनीहरू प्रस्ट छैनन् । संसारमा कुनचाहिँ त्यस्तो देश छ, जहाँ ९० प्रतिशतको भावनालाई कुल्चिएर १० प्रतिशतको भावनालाई सम्बोधन गरिन्छ रु त्यसैले बहुमतको आवाजलाई प्राथमिकता नदिइकन नेपालमा रेडलाइट क्षेत्र तोक्ने हो भने भोलि अर्को दुर्घटना ननिम्तेला भन्न सकिँदैन ।
यसको अर्थ रेडलाइट एरिया तोक्नै हुँदैन भन्न खोजिएको होइन । तर विभिन्न पेसा व्यवसायका नामबाट शोषित हुनपरेपछि त्यसमा संलग्न महिलाहरूले त्योभन्दा राम्रो र सुरक्षित पेसा अपनाउन चाहिरहेका छन् भने किन उनीहरूका लागि रेडलाइट एरिया तोक्ने ? किन वैकल्पिक उपाय नदिने ? जसरी आज राष्ट्रिय रूपमा नेपालको संविधानको स्वरूप कस्तो हुने भनेर बहस एवं छलफल चलिरहेको छ, त्यसैगरी नेपालको सन्दर्भमा यौनव्यवसायलाई वैधानिकता दिन हुन्छ कि हुँदैन भनेर छलफल चलाउनु अपरिहार्य छ ।
सबैभन्दा प्रमुख कुरा त रेडलाइट एरिया कसका लागि र केका लागि भनेर ती महिलाले जान्न पाउनुपर्छ । अनिमात्र उनले निर्णय गर्न सक्छिन् । निश्चय पनि रेडलाइट एरिया भन्नेबित्तिकै देहव्यापार हुने स्थल भन्ने बुझिन्छ र देहव्यापार भन्नेबित्तिकै एउटी अवसरबाट वञ्चित महिला हो भनेर बुझ्नुपर्छ । जो अन्त केही अवसरको खोजीमा भौंतारिरहेकी हुन्छिन् र त्यो महिला तपाईं-हाम्रै दिदी, बहिनी, छोरी वा श्रीमती हुनसक्छिन् ।
कुनचाहिँ आमाबुबाको चाहना होला, आफ्नी छोरीले शरीर बेचेर ल्याएको पैसाले सिटामोल खाएर बाँच्ने रु अनि कुन दाजुभाइको मन होला, दिदीबहिनीको शरीर बेचेर मोजमस्ती गर्ने रु त्यसैले रेडलाइट एरिया तोकेर विकसित मुलुकले यो फाइदा, ऊ फाइदा गर्यो भन्नुभन्दा नेपाली मन, नेपाली माटोको परिवेश हेरेर रेडलाइट एरिया कत्तिको सान्दर्भिक छ भनेर सोच्नुपर्छ । हामी स्वतन्त्रता, समानता एवं मानवअधिकारका कुरा गर्छौं, तर यहाँ शरीर बेचिन्छ एउटाको र बेच्नका लागि वकालत गर्छ अर्कोले रु अनि यसलाई चाहिँ मानवअधिकारको हनन भनिँदैन ?
१४ औं शताब्दीदेखि यौनदासी भएर जीविका चलाउन बाध्य वादी महिलाहरूले पनि २१ औंशताब्दीमा आएर यौनपेसाबाट मुक्ति मागी वैकल्पिक रोजगारीको व्यवस्था गर्न सरकारलाई दबाब दिन २०६४ साल भदौमा ४८ दिनसम्म आन्दोलन गरेका थिए । त्यसले सरकारलाई उनीहरूको मागमाथि सम्बोधन गर्न कर लाग्यो । यसरी शदीयौंदेखि यौनपेसालाई नै जीविकोपार्जनको प्रमुख स्रोत बनाउँदै आइरहेका वादी महिला त यौनपेसा चाहिँदैन भनी जुर्मुराइरहेका छन् भने आन्तरिक रूपमा विस्थापित भएर तथा घरेलु हिंसाको सिकार भएर अनि गरिबी, बेरोजगारी र अशिक्षा लगायतका कारणले सहरमा क्याबिन रेष्टुरेन्ट, डान्सबार, गेष्टहाउस एवं मसाज सेन्टरसम्म धकेलिएका महिलाहरूको चित्कार, रोदन, बाध्यतालाई सम्बोधन नगरी उनीहरूलाई यौनव्यवसायीको परिचय दिइयो भने नेपाली समाजमा अर्को विद्रोहले जन्म लिनेछ । तसर्थ रेडलाइट क्षेत्र तोक्ने विषयमा हतार गरिहाल्नु हुँदैन, अन्यथा यसको मूल्य भारी पर्नेछ
ek dam ramro lekh lekhnubhaeko chha menuka ji ek jana chetana mulak lekh ho yo yo lekh le hamro samaj ma ramro chetana aaune chha, bhanne malai lagchha,
AAHILE SAMMA KAI RAMRO KHOJMULAK, RA REALITY ARTICLE CHAPEKO MA THANKS. MENUKA JI LAI DHERAI CONGRAZ VANCHU MA DUBAI MA BASCHU THUPRAI VAYO NEPAL GAYEKO CHINA, MALAI AAJAVOLI KO NEPALI DIDI BAHINI KO AABASTA BUJNA PAUDA KHUSI LAGYO.MERO BAHINI WA DIDI PANI TESTO BEBASAYEMA LAGEKO HUNA SAKCHIN SO SARKAR LE OPTION DINA SAKNU PARCHHA.......NEPAL SARKAR LE MENUKA JII JASTO YOUTH LAI AAFNO SAHAKARYA MA RAKHNA SAKYO VANE RAMRO HOLA. KEEP IT UP MENKA JI
COMMENTS