TODAY'S CARTOON

articles

युग पाठक

'खान्दानी सभा'को सन्देश....
झन्डै-झन्डै वर्गयुद्धको स्वरूप लिइसकेको आमहडताल रोकिनासाथ घुमाउरो बाटोबाट सेना परिचालन गर्ने सरकारी योजना तुहिएको छ।आमहडताल सुरु हुनैलाग्दा केही जल्दाबल्दा मानवअधिकारवादी एवं बुद्धिजीवी पत्रकारले प्रचण्डले रगतको खोलो बगाउन लागेको खुल्ला अभिव्यक्ति दिएका थिए।

'खान्दानी सभा'को सन्देश

मुलुक एकपटक गृहयुद्धको त्रासदीबाट पछि हटेको छ । माओवादी आमहडतालबाट पछि हटेकै हुनाले त्यो त्रासदी यो मुलुकले देख्नु/भोग्नु परेन । देश दुर्घटनाको डिलैमा उभिएको बेला युद्धविरामको पनि मूल्यवत्ता हुँदो हो, तर आमहडतालको स्थगनले यसले प्रस्फुटन गरेको ज्वारभाटाको अन्त्य गरेको छैन । यो देशको भूगोलभित्र रहेका पचासी प्रतिशत निम्नवर्गका मानिसको आक्रोश व्यवस्थापन यसरी हुनसक्छ ? हुँदैन । हुन्थ्यो भने जनयुद्ध हुँदैनथ्यो, दोस्रो जनआन्दोलन हुँदैनथ्यो,मधेस आन्दोलन हुँदैनथ्यो । इतिहास यथास्थितिवादीहरूकै रोडम्यापमा चलिरहेको हुन्थ्यो ।


आमहडतालको चक्का प्रतिकारको खाल्डोमा पुगेर अड्कियो । माओवादीले यसको विश्लेषण कसरी गर्छ, अरू दलहरूले कसरी गर्छन्, त्यो आफ्नो ठाउँमा छ । तर आमहडताल र प्रतिकारको चक्र चलिरहँदा केही यक्ष प्रश्नको उत्तर जनताले पाएका छन् । झन्डै-झन्डै वर्गयुद्धको स्वरूप लिइसकेको आमहडताल रोकिनासाथ घुमाउरो बाटोबाट सेना परिचालन गर्ने सरकारी योजना तुहिएको छ । आफूलाई सर्वथा लोकतन्त्रवादी ठान्ने कांग्रेस संयुक्त राष्ट्रसंघको क्ष्ाेत्रीय कार्यालयहरू खारेज गर्ने निर्णयमा पुग्नु निश्चय पनि बुर्काभित्रको अनुहार देखाउने हतारो थियो । विदेशी आक्रमण हुनलागेझैं सेनालाई समवेदनशील क्षेत्रको सुरक्षामा खटाउने निर्णयमा सरकार पुग्नु अर्को दक्षिणपन्थी उत्तेजना थियो । र कार्यकर्तालाई प्रतिकारका नाममा हतियारसहित उतार्नु युद्ध उद्घोष गर्ने सरकारी दलहरूको बलात्कारी आवेग थियो ।


आमहडताल सत्याग्रहझैं चलिरहेको थियो, तर सरकार पूरै अनुत्तरदारी ढंगले प्रतिकारको तयारी गर्दै थियो । आमहडताल सुरु हुनैलाग्दा केही जल्दाबल्दा मानवअधिकारवादी एवं बुद्धिजीवी पत्रकारले प्रचण्डले रगतको खोलो बगाउन लागेको खुल्ला अभिव्यक्ति दिएका थिए । तर आमहडताल इतिहासमै सबैभन्दा संयमित भएको तथ्यलाई यो पंक्तिकारले सडकमै झरेर नियालेको थियो । साँच्चिकै अशान्ति भएको भए, हिंसा मच्चिएको भए, त्यो शान्ति र्‍यालीका आयोजकहरू सडकमा त्यसरी ओर्लने थिएनन् । तर उनीहरू किन ओर्लिए ? सडकमा भएको सत्याग्रह शान्तिलाई अनुमोदन गर्न वा हिंसाको आह्वान गर्न ? वसन्तपुर चोकमा उभिएर यो पंक्तिकारले पनि सुनेको थियो, तमाम शान्तिका 'उपासकहरू'को लिष्टमा विश्वहिन्दु महासंघ र खस क्षत्री समाज लगायत तिनै मानवअधिकारवादी र बुद्धिजीवीहरू पनि थिए, जो हिंसाको पूर्वानुमानमा निकै मत्त देखिएका थिए । 'निस्पक्ष' शान्ति र्‍याली वसन्तपुरबाट निस्कनासाथ खतरनाक प्रतिकार र्‍यालीमा परिणत भएको थियो । के त्यसले हिंसात्मक मुठभेड निम्त्याउने सम्भावना थिएन ? आयोजक उद्योग वाणिज्य महासंघका अध्यक्षले यसको जिम्मेवारी लिनुपर्छ कि पर्दैन ?


राजनीतिक संस्कार कमजोर भएकै हुनाले यो देश अल्पविकास र राजनीतिक अस्थिरताको सिकार हुनेगरेको छ । तर राजनीतिक संस्कार दलहरूमा मात्र होइन, तमाम संघ-संस्था एवं सामाजिक पहिचान भएका व्यक्तित्वहरूको समेत कुण्ठित अवस्थामा रहेको तथ्य वसन्तपुर स्थलबाट उजागर भएको छ । लुकाएर सडकमा पछारिएका सत्यहरू लुक्दैनन् । माओवादी आमहडतालको विरोध गर्ने नाममा, शान्तिको कामना गर्ने नाममा, माकुने सरकारलाई दक्षिणपन्थीहरूको बलियो किल्ला बनाउने अभिप्रायः सडकमै पोखियो । सेना परिचालनसम्मको तयारी गरेको सरकारी हठ, संयुक्त राष्ट्रसंघ र अनमिनलाई नेपालबाट लखेट्न गठबन्धन दलहरूले गरेको खुल्ला अभ्यास, पञ्चायती निरंकुशताका अभियन्ता सूर्यबहादुर थापाको अभिभावकत्वमा खेलिएको प्रतिकारको पञ्चायती खेल समेतलाई नदेखेझैं गरेर आमहडतालका क्रममा अभिव्यक्त भएको सत्याग्रह शान्तिलाई कुल्चने प्रयत्नमा शान्तिसभाका खेलाडीहरू नांगो ढंगले उत्रनु शोभनीय कुरा थिएन । यसक्रममा नागरिक समाज, मानवअधिकार र स्वतन्त्र प्रेसका नाममा एकथरी मानिसहरूले हालसम्म देखाइरहेको तटस्थताको ढोँगबाट पर्दा उठेको छ ।


नोबेल पुरस्कार विजेता प्रोफेसर अमत्र्य सेनले 'दि आइडिया अफ जस्टिस' नाउँको पुस्तकमा निष्पक्षता र तटस्थतासम्बन्धी धारणामा उठेका यस्तै प्रश्नहरूको चर्चा गर्दै न्यायपूर्ण समाज निर्माणमा भएका अवरोधहरूको चर्चा गरेका छन् । खास समूह वा समुदायको स्वतन्त्रता र स्वार्थमा केन्दि्रत रहने न्यायनिरूपण क्रियाकलाप एकपक्षीय हुनपुग्छ, निष्पक्षताको क्लेशमात्र पनि त्यहाँ नरहने उनले उल्लेख गरेका छन् । तटस्थता र निष्पक्षताको पर्दाभित्रबाट अत्यन्त अनुदार दक्षिणपन्थी हिंस्रक शक्तिलाई शान्तिपि्रय र सत्याग्रहमा उत्रेका गरिब-गुरुवालाई हिंस्रक रूपमा प्रस्तुत गर्ने जुन क्रियाकलाप शान्तिसभामा देखिएका अनुहारहरूले गरे, अन्ततः त्यसले उनीहरूलाई नै आमजनताको मनबाट खुर्केर फालिदिएको छ ।


आमहडतालले निश्चय नै अप्ठ्याराहरू सिर्जना गर्छ, जनजीवन कष्टकर बनाउँछ । तिनै गरिब जनता हुन्, जसले दोस्रो जनआन्दोलनमा यस्ता कैयौं सास्तीहरू भोगेका थिए र नयाँ युगमा यो मुलुकलाई प्रविष्ट गराएका थिए । सामन्ती सम्भ्रान्तहरूको निरंकुश कब्जामा परेका उदार सम्भ्रान्तहरूलाई तिनै झुत्रेझाम्रेहरूको अपार उत्साहको उज्यालोले कब्जामुक्त गरेको थियो । तिनै गरिबहरूले ६ दिनसम्म काठमाडौंको सडकमा धर्ना बसेर कट्वाल काण्डपछि भएका प्रतिगमनको विरुद्धमा सत्याग्रह गरे, त्यसको विरुद्ध तरवार र बन्दुकहरू चलाउन को तयार भयो ? वीरगन्जमा मानिसहरूले खाने अन्न, सुत्ने टेन्टहरू जलाएर ध्वस्त पारिँदा, अन्ध हिन्दुवादीहरूले अर्को गौरकाण्ड मच्चाउने दुःप्रयास गरिरहँदा मानवअधिकारवादी डलरको रंगले रगत हरियो भएकाहरूको समवेदना किन जागृत भएन ? शान्तिपूर्ण ढंगले सडकमा बसिरहेका मानिसहरूको विरुद्ध तरवार, भाला र विषको पुरिया लिएर प्रतिकारमा उत्रनेहरूले कुन शान्तिको माला जपेका थिए ? प्रतिकारका नाममा देशैभर चलाउन लागिएको हिंसा र त्यसबाट टोल-टोलमा उत्पन्न हुनसक्ने गृहयुद्धको त्रासदी उनीहरूले देख्न किन सकेनन् ?


राजनीतिक संस्कारको टाटपल्टाइकै कारण एउटा राजनीतिक शक्तिले चलाएको शान्तिपूर्ण आन्दोलनको विरुद्धमा हिंसात्मक प्रतिकारको तयारी सरकारी दलद्वारा गरिएको थियो । कार्यकर्ताहरूको यस्तो भिजिलान्तेकरणले शान्ति संस्थागत गर्छ कि हिंसा ? के दलहरू यस्तो डरलाग्दो भिजिलान्तेकरणबाट स्वयम् सुरक्षित रहन सक्छन् ? यस्तो क्रियाकलापले सत्याग्रह शान्तिले सडक तताउनेहरूको मनोविज्ञानमा कस्तो असर गरेको होला ? के यसले माओवादी नेताहरूको शान्तिपूर्ण आन्दोलन गर्ने तर्कलाई उनीहरूकै कार्यकर्ता र समर्थकहरूमाझ खारेज गरिदिने खतरा रहँदैन ? 'शान्ति होइन, युद्ध रोज' भन्ने स्पष्ट सन्देश हो कि होइन तमाम प्रतिकार शृङखलाहरू ? वसन्तपुरे खान्दानी सभा यो उद्घोषबाट मुक्त रहेको छैन ।


माओवादीले आमहडताल स्थगन गरेर खतरनाक गृहयुद्धबाट मुलुकलाई बचाएको त छ, तर आमकार्यकर्ता र समर्थक र शुभचिन्तकहरूलाई चित्त बुझाउनसकेको छैन । शान्तिपूर्ण आन्दोलनमार्फत राष्ट्रिय सरकार बनाउन सकिने विश्वास दिलाएर उसले जनताको एउटा ठूलो पंक्तिलाई सडकसम्म ल्याइपुर्‍यायो । भोट लिनु र जनतालाई सडकसम्म ल्याइपुर्‍याउनु विलकुल फरक कुराहरू हुन् । राजनीतिक निराशाको बीचबाट जनतालाई चुनावी बुथसम्म ल्याइपुर्‍याउन त कठिन हुन्छ, सडकमा ल्याइपुर्‍याउन झन् असम्भव । चुस्त संगठन, स्पष्ट एजेन्डा र परिस्थितिप्रतिको राजनीतिक अफेन्स स्पष्ट नहुँदासम्म जनतालाई सडकमा ल्याउन सकिन्न । आर्थिक अराजकता, सामाजिक अराजकता, राजनीतिक अराजकता एवं प्रशासनिक अस्तव्यस्तता र भ्रष्टाचारको नग्ननृत्य चलिरहेको बेला जनतालाई गर्मीको तातो पिच सडकसम्म सत्याग्रहमा ल्याइपुर्‍याउन ऊ सक्षम भयो । तर ती जनतालाई कुनै स्पष्ट सन्देश नदिएरै उसले घर फर्काएको छ ।


यदि घर फर्किएका र घर फर्किएका मानिसहरूले ल्याएको सन्देश सुन्न इन्कार गर्ने व्यापक जनसमूहलाई उचित जवाफ दिन नसके माओवादीको राजनीतिक अफेन्स केही समयलाई अन्योलमा पर्नेछ । त्यसमाथि प्रतिकारका नाउँमा ठूलो हिंसाको प्रत्यक्ष-अप्रत्यक्ष मार खेपेर फर्किएका निमुखाहरूको मनोविज्ञानले भोगेको निराशासमेत निकै विस्फोटक हुनसक्छ । साभार : कांतिपुर दैनिक



COMMENTS

COMMENT THIS ARTICLES

OTHER ARTICLES

दुई समस्या, दुई समाधान
- प्रा. एसडी मुनी
नेपाल क्रीडास्थल होइन
- लोकेन्द्र विष्ट मगर
ढले 'एमपी बलबहादुर’
- कुलचन्द्र न्यौपाने
नक्कली भोकमरी
- डा. अरुणा उप्रेती
हिंसा राजकाज
- आनन्दराम पौडेल
अर्को धोका नहोस ?
- लक्की चौधरी
इतिहासको मूल्यांकन गरौं
- मोदनाथ प्रस्रित
सन् २००८ मा खेलकुद
- कृष्णराज खनाल
मसाज केन्द्रमा यौन धन्दा
- शुकदेव चापागाईं
  • INTERVIEW
  • ARTICLES

अझै पचास लाख निरक्षर
(स्थानीय तहमा पढाउने व्यक्ति राजनीतिक दलका कार्यकर्ता भएकैले जिल्ला शिक्षा अधिकारी र मातहतका निकायले बोल्न सकेनन्)

more »

  • PERSONALITY

Siddhartha Gautama Buddha was a spiritual founder of Buddhism. He was born Lumbini,kapilbastu Nepal.
"Buddha" meaning "awakened one" or "the enlightened one."
*If we could see the miracle of a single flower clearly, our whole life would change.*
~ Lord Buddha ~

more »

HOROSCOPE

Useful Info